बुद्धशान्तिमा दुईदिने युवा नेतृत्व विकास सम्बन्धी 'लिडरसिप एकाडेमी' सम्पन्न
बुद्धशान्ति ,बुद्धशान्ति गाउँपालिका–१ को समन्वयमा सञ्चालित दुईदिने युवा नेतृत्व विकाससम्बन्धी ‘लिडरशिप एकाडेमी’ आइतबार सम्पन्न भएको छ।
सहारा नेपाल बिर्तामोडको आयोजना तथा ग्लोबल लर्निङ ल्याब इन्टरनेसनलको सहयोगमा बुद्धशान्ति–३ स्थित चखेवा रेस्टुरेन्टको सभाहलमा एकाडेमी सञ्चालन गरिएको हो।
बुद्धशान्ति गाउँपालिका–१ का वडा अध्यक्ष अनिल वाग्लेको अध्यक्षतामा सम्पन्न एकाडेमीमा कुसुम उप्रेती, विनोद दाहाल, ममता अधिकारी र प्रतिमा भट्टराईले सहजीकरण गरेका थिए।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष वाग्लेले नकारात्मकताले व्यापकता पाइरहेको वर्तमान अवस्थामा युवाको सकारात्मक पहलबाट मात्रै असल समाज निर्माण गर्न सकिने बताए। समाजका विभिन्न समस्या समाधान गर्दै असल समाज निर्माणमा युवा शक्ति अग्रसर हुनुपर्ने उनको भनाइ थियो।
दिगो विकासका लक्ष्य हासिल गर्न पनि युवाको भूमिका महत्वपूर्ण हुने बताउँदै वाग्लेले समाजका सबै पक्षको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको बताए। समाज परिवर्तन तथा विकास निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले युवामा नेतृत्व क्षमता, आत्मविश्वास, निर्णय क्षमता र सामाजिक जिम्मेवारीको भावना विकास गर्ने बताए।
एकाडेमीमा बुद्धशान्ति गाउँपालिका–१ सहित बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका १८ देखि ३५ वर्ष उमेर समूहका ३५ जना युवाको सहभागिता रहेको थियो।
दुई दिनसम्म सञ्चालन भएको एकाडेमी फलदायी र उपयोगी रहेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा दिगो विकासका लक्ष्य, नेतृत्व विकास, सकारात्मक सोच, निर्णय क्षमता, सामाजिक उत्तरदायित्व तथा युवाको भूमिकालगायतका विषयमा सहजीकरण गरिएको थियो।
समापन कार्यक्रममा कार्यक्रमका सभाध्यक्ष एवं वडा अध्यक्ष वाग्ले, वडा सदस्य मोहनकुमार राई, सहजकर्ता कुसुम उप्रेती तथा सहारा नेपालका दीपेशराज ओलीलगायतले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए।



टिप्पणियाँ
एक टिप्पणी भेजें