बुद्धशान्तिमा असोज २४ देखि दोस्रो झापा मिडिया कप हुने
बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लब झापाले दसैँको अवसर पारेर पत्रकारहरूबीच आपसी सद्भाव र भाइचारा बढाउने उद्देश्यले दोस्रो संस्करणको झापा मिडिया कप–२०८३ आयोजना गर्ने भएको छ ।
प्रेस क्लबको शुक्रबार बसेको कार्यसमिति बैठकले आगामी असोज २४ र २५ गते बुद्धशान्ति गाउँपालिका–स्थित बुधबारे खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । क्लबका अध्यक्ष तीर्थ तिम्सिनाका अनुसार प्रतियोगितामा झापाका विभिन्न पालिकास्तरमा रहेका प्रेस क्लबका टोलीहरूको सहभागिता रहनेछ ।
प्रतियोगिता सम्पन्न गर्न क्लबका उपाध्यक्ष नारायण अर्याललाई संयोजक तोकिएको छ । संयोजक अर्यालका अनुसार पहिलो संस्करणको तुलनामा यस वर्ष पुरस्कार राशि वृद्धि गरिने तयारी गरिएको छ ।
पहिलो संस्करणमा विजेता टोलीले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । त्यस्तै, उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । पहिलो संस्करणको मुख्य प्रायोजकका रूपमा बुद्धशान्ति गाउँपालिका–१ रहेको थियो ।
यस वर्षको प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रेस क्लब बुद्धशान्तिका सचिव रोसन भट्टराईले जानकारी दिए ।
यसैबीच, बैठकले प्रेस क्लबमा नयाँ सदस्यता खुलाउने निर्णय समेत गरेको छ । बैठकमा कार्यसमिति सदस्यहरू चन्द्रकान्त वाग्ले, समीक्षा कडरिया, किरण काफ्लेलगायतको उपस्थिति रहेको थियो ।
पत्रकारहरूबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउँदै दसैँको अवसरलाई खेलकुदमार्फत उत्सवमय बनाउने उद्देश्यले आयोजना हुन लागेको मिडिया कपलाई यस वर्ष थप व्यवस्थित र आकर्षक बनाउने तयारी प्रेस क्लबले गरेको जनाएको छ ।

टिप्पणियाँ
एक टिप्पणी भेजें